सोमवार, श्रावण २५ गते २०८३

अमेरिकाको अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । अमेरिकाको अलास्का राज्यमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।

स्थानीय समयअनुसार बिहीबार दिउँसो १२:३७ बजे स्यान्ड पोइन्ट नगरबाट करिब ८७ किलोमिटर दक्षिणमा र सतहदेखि २०.१ किलोमिटर गहिराइमा केन्द्रबिन्दु बनाएर ७.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो । तर, पछि उक्त चेतावनी नेशनल सुनामी वार्निङ सेन्टरले फिर्ता लिएको छ । “दक्षिण अलास्का र अलास्का पेनिन्सुलाका तटीय क्षेत्रहरूका लागि जारी गरिएको सुनामी चेतावनी रद्द गरिएको छ,” सेन्टरले भन्यो ।

स्यान्ड पोइन्टमा ६.१ सेन्टिमिटर अग्लो सानो सुनामी मापन गरिएको भए पनि अहिलेसम्म ठूला क्षति वा मानवीय हताहतीबारे रिपोर्ट नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२३ को जुलाईमा पनि अलास्का पेनिन्सुला क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

मार्च १९६४ मा अलास्कामा ९.२ म्याग्निच्युडको भूकम्प आएको थियो, जुन उत्तरी अमेरिकामा हालसम्म मापन गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो । उक्त भूकम्पले एंकोरेज शहरलाई तहस-नहस बनाएको थियो । त्यसपछि आएको सुनामीले अलास्काको खाडी, अमेरिकाको पश्चिमी तट र हवाई क्षेत्रलाई व्यापक क्षति पुर्‍याएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार