काठमाडौँ । बंगलादेशको राजधानी ढाकाको उत्तरास्थित माइलस्टोन स्कूल एन्ड कलेज परिसरमा सोमबार दिउँसो वायुसेनाको एक प्रशिक्षण विमान दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने करिब १५० जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश विद्यार्थी रहेका बीबीसी बंगलाले जनाएको छ ।
फायर सर्भिसका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालले घटनास्थलको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै १९ जनाको मृत्यु पुष्टि गरेका हुन् । उनका अनुसार, फायर सर्भिसका ९ वटा युनिटले अझै उद्धार कार्य जारी राखेका छन् ।
दुर्घटनामा ७० जनाभन्दा बढी बालबालिका गम्भीररूपमा जलेर घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये धेरैको अवस्था चिन्ताजनक छ । अन्तरसेनात्मक जनसम्पर्क विभागले दिएको विवरण अनुसार, दुर्घटनापछि विभिन्न अस्पतालमा १६४ जना घाइते भर्ना गरिएको छ ।
सरकारले घटना कसरी भयो भन्नेबारेमा पूर्ण छानबिन गर्ने प्रतिबद्धता जनाएको छ । साथै उद्धार कार्यमा सेना, फायर सर्भिस र नागरिक सुरक्षाका अन्य निकायहरूको सक्रिय सहभागिता देखिएको छ ।