काठमाडौँ । इजरायलको पक्षमा खुलेका २८ देशले गाजा युद्ध तत्काल रोक्न आह्वान गरेका छन् । बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्यूजील्याण्ड, स्विट्जरल्याण्ड लगायत २८ देशले गाजा शहरका नागरिक दुःखको नयाँ गहिराइमा पुगेको भन्दै युद्ध तत्काल रोक्न आह्वान गरेका हुन् ।
उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै गाजामा बढ्दो आक्रमण र चर्को भोकमरीलाई अत्यापूर्ण हत्याको संज्ञा दिएका छन्। गाजामा खाना र पानीको अभावमा बालबालिकाको मृत्यु भइरहेको उनीहरूको भनाइ छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली गोलाबारीमा एकै दिन १०० भन्दा बढीको मृत्यु भएको छ भने कुपोषणबाट १९ जनाको मृत्यु भएको छ।
साथै इजरायलले गरेको जबरजस्ती स्थानान्तरणको पनि विरोध गरिएको छ। गाजामा रहेका २१ लाख मानिसलाई इजरायलले विभिन्न ठाउँमा चेतावनी जारी गर्दै जबरजस्ती हटाउने काम गरिरहेको छ। संयुक्त राष्ट्र संघले इजरायलको यो कदमलाई मानवता विरोधी कार्यभन्दै आलोचना गर्दै आएको छ । बेलायतका विदेशमन्त्री डेविड लाम्मीले गाजामा अत्यन्त दुःखद स्थिति रहेको भन्दै, ४० मिलियन पाउण्डको मानवीय सहायता थप्ने घोषणा गरेका छन्।
संयुक्त राष्ट्र संघले गाजामा खाद्यान्नको अभावले नयाँ स्तरको त्रास सिर्जना गरेको बताएको छ। गाजामा ९० हजार महिला र बालबालिकालाई तत्काल उपचारको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ ।