सोमवार, श्रावण २५ गते २०८३

मेसीको दुई असिस्टसहित इन्टर मियामी विजयी

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं। लिओनल मेसीको दुई असिस्टसहित इन्टर मियामीले लिग्स कपको उद्घाटन खेलमा एटलासलाई २–१ ले पराजित गरेको छ।

बिहीबार बिहान सम्पन्न खेलमा मेसीले अन्तिम सेकेन्डमा निर्णायक पास दिँदै टोलीलाई जित दिलाए। मेजर लिग सकर (एमएलएस) को अल–स्टार खेल गुमाएपछि लागेको एक खेलको निलम्बनपछि यो खेल मेसी र जोर्डी अल्बा मैदान फर्किएका थिए।

अन्तिम स्टपेज टाइमको अन्तिम मिनेटमा उनले मार्सेलो वाइगान्टलाई पास दिएका थिए, जसले निर्णायक गोल गरे। मेसीले टेलास्को सेगोभियाको ५८औं मिनेटमा गरिएको पहिलो गोलमा पनि असिस्ट दिएका थिए।

ग्वाडालाजारा (एटलास) का लागि ८२औं मिनेटमा रिभाल्डो लोजानोले बराबरी गोल फर्काएका थिए। तर, ९६औं मिनेटमा वाइगान्टले गोल गर्दै मियामीलाई पुनः अग्रता दिलाए। यो गोल सुरुमा अफसाइड घोषित गरिएको थियो। तर, भिडियो रिभ्यु (भीएआर) पछि मान्यता दिइयो।

जुलाई महिनामा मात्रै मेसीले पाँच असिस्ट गरेका छन्। उनले आठ गोलसहित एमएलएसमा मियामीलाई चार जित, एक बराबरी र एक हार दिलाएका थिए। यस प्रदर्शनका आधारमा उनलाई ‘एमएलएस प्लेयर अफ द मन्थ’ घोषणा गरिएको थियो।

पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो। तर, दुवै टोलीले गोल गर्न सकेनन्। मियामीका गोलकिपर रोक्को रियास नोभोले पहिलो हाफमा तीन उत्कृष्ट बचाउ गरे, जसमा एक हेडरमा गरिएको प्रयासलाई उनले पोस्टको नजिकै स्लाइड गर्दै रोकेका थिए। 

लुइस सुआरेजले पहिलो हाफको अन्तिम क्षणमा शक्तिशाली प्रहार गरे, जुन बल पोस्टमा ठोक्किएको थियो। यस खेलमार्फत अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डे पाउलले इन्टर मियामीका लागि आफ्नो डेब्यु गरे। मेसीका राष्ट्रिय टोलीका साथी डे पाउलले गत साता मात्रै मियामीसँग औपचारिक सम्झौता गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार