सोमवार, श्रावण २५ गते २०८३

एएफसी यू–२० महिला एसियन कप : साउदी अरेबियामाथि नेपालको जित

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । नेपालले साउदी अरेबियालाई १–० गोलअन्तरले हराएको हो ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले विजयी गोल गर्न अन्तिमसम्म कुर्नुपर्‍यो । निर्धारित समय सकिनै लाग्दा ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई जित दिलाइन् । उनले मिना देउवाको पासमा गोल गरिन् । खेलमा साउदीले नेपालविरुद्ध केही राम्रा अवसरहरू बनाएपनि गोल भने गरेको थिएन ।

नेपालले ३७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने सुनौलो अवसर पाएपनि मीना देउवाको प्रहार बारमा लागेको थियो । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो ।

पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूहविजेता बन्ने सम्भावनामा धक्का लागिसकेको छ । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ । खेल आइतबार हुनेछ ।

प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार