काठमाडौं । चर्चित गायिका विष्णु माझीको नयाँ गीत ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) सार्वजनिक भएको छ ।
सधैँझैँ यसपटक पनि माझीले तीज पर्वको पूर्वसन्ध्यामा आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन् । गीतको भिडिओमा एक चेलीले बिदाइको क्षणमा आँसु लुकाउँदै ‘म त रुन्नँ’ भने पनि उनको हरेक पल संघर्ष र पीडामा बितेको मार्मिक कथा देखाइएको छ ।
यस गीतको रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी हुन् । मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई गीतमा एकसाथ नचाइएको छ । यो गीतमा शम्भु चालिसेको सिनेम्याटोग्राफी र प्रविण भट्टले सम्पादन गरेका छन् ।
गत वर्ष माझीको ‘आइनँ आमा यो तीजमा’ बोलको गीत निकै चर्चित भएको थियो । यस पटक तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको माझीको गीतमा पनि मोडल ललिता पौडेलले नै अभिनय गरेकी छन् ।