आइतवार, श्रावण २४ गते २०८३

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले राजीनामा दिए

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुखसहित वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् ।

व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै उनले आगामी ३० असोजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । विदेशमा रहेका कारण इलेक्ट्रोनिक मेलमार्फत हस्ताक्षर प्रमाणिकरण गर्न नसक्ने उनले बताएका छन् । १६ अक्टोबर २०२५ सम्म केन्द्रमा उपस्थित हुन नसक्ने बताउँदै उनले आफ्नो व्यक्तिगत सामानबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेको जनाएका छन् ।

राजीनामा दिए पनि केन्द्रको प्रगति, पूर्वकार्यकारी निर्देशक गगन थापा, डा. प्रदीप पौडेललगायतको सपना र संघीय सरकारको स्वास्थ्य सेवाप्रति प्रतिबद्धता निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । डा. रामेशले गंगालाल अस्पतालमा २५ वर्ष बिताएका छन् । उनले राजीनामा पत्रमा भनेका छन्, ‘ शहीद गंगालाल राष्ट्रिय हृदृय तथा स्नायु केन्द्रका  रुपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वत छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका लागि हरदम उपलब्ध हुने नै छु ।’

अस्पताल प्रशासनले भने डा. कोइरालाले राजीनामा भने नदिएको जनाएको छ । ‘उहाँको छोरी अमेरिकामा बस्नुहुन्छ, छोरीसँग भेट गर्ने भन्दै घरयासी बिदा ४१ दिनको मागेर जानुभएको हो ।’ डा. कोइरालाले बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका थिए ।

तर, सरकारले उनलाई प्रतिष्ठान जिम्मेवारी नदिएका कारण असन्तुष्टि भएर राजीनामा दिएको बुझिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार