काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेट हुनुभन्दा अगाडि रुसले युक्रेनका सहरहरूमा आक्रमण गरेको छ ।
खार्किभका मेयर इहोर तेरेखोभले एक अपार्टमेन्ट ब्लकमा रुसले गरेको ड्रोन आक्रमणमा एक बच्चासहित कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन् । बीबीसीका अनुसार उनले भनेका छन्, ‘भवनको एक भाग भत्किएको छ र धेरै मानिस भग्नावशेषमा फसेको आशंका छ ।’
उता जापोरिजिया क्षेत्रमा पनि रुसले हानेको ग्लाइड बम लागेर १ जनाको मृत्यु र ६ जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । रुसले रातभर युक्रेनमा चारवटा मिसाइल र १४० वटा ड्रोनले आक्रमण गरेको युक्रेनी वायुसेनाले बताएको छ । वायुसेना रुसले २५ विभिन्न स्थानमा ८८ वटा ड्रोन खसालेको दाबी गरेको छ ।
रुस–युक्रेन सम्झौताका विषयमा गत शुक्रबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा भेटवार्ता गरेका ट्रम्पले आज (सोमबार) वासिङ्टनमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग भेट गर्दै छन् ।
त्यसअघि ट्रम्पले युक्रेनलाई क्रिमिया फिर्ता दिन नसकिने बताएका छन् । शुक्रबार भएको ट्रम्प–पुटिन भेटवार्तामा पनि कुनै ठोस सहमति हुन सकेको थिएन् ।