काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भएको छ । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिएका छन् । त्यस्तै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १–१ विकेट लिएका छन् । होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने चार्ली वाकिमले २८ रन बनाउँदा जेन कर्टेन २० रनमा नटआउट रहेका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाएका छन् । आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २७ रन बनाए । लोकेश बम ११ बलमा २५ रनमा अविजित रहेका थिए । नेपालले अतिरिक्त ३२ रन पाएको थियो । होबार्टका निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन दिएर २ विकेट लिएका हुन् । राफ माकमिलनले पनि २ विकेट लिँदा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १–१ विकेट हात पारेका थिए ।
यसअघिका ३ वटै खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो । नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो भने दोस्रो खेलमा शनिबार बंगलादेश ए सँग तथा तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।
नेपालले यसपछि भोलि मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।