सोमवार, श्रावण २५ गते २०८३

टप एण्ड टी–२० सिरिज : नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा आफ्नो पाँचौं खेल खेलिरहेको नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ ।

डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको छ । नेपालका लागि कुशल मल्लले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाएका छन् । आजको खेलमा कप्तानी गरेका दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाएका छन् । लोकेश बमले १६ बलमा २४ रन बनाए । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाएका छन् ।

रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २–२ विकेट लिएका छन् । नेपाल हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित हुँदा एक जित निकालेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

मंगलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो । नेपाल हाल ४ खेलमा २ अंक जोडेर आठौं स्थानमा छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्ने प्रावधान छ ।

नेपालले यसपछि शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार