आइतवार, श्रावण २४ गते २०८३

आफ्नै फिल्म ‘जनै हराएको मान्छे’ हेरेर रोइन् केकी अधिकारी

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरूले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ ।

बुधबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित प्रिमियरमा फिल्म हेर्ने अधिकांश दर्शक र कलाकारहरू भावुक बनेको निर्माणपक्षले जनाएको छ । प्रिमियरमा अग्रज कलाकार सुनील थापा, गायिका अञ्जु पन्त, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणी नेपाल, लोकेन्द्र लेखक, अभिनेता किरण श्रेष्ठ र स्क्रिप्ट राइटर प्रदीप भारद्वाजलगायत फिल्म क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति थियो ।

उनीहरूले फिल्मले दर्शकको मन छुने र आँसु बगाउन बाध्य बनाउने प्रतिक्रिया दिएका छन् । फिल्मले बुवा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथालाई मार्मीक ढंगले प्रस्तुत गरेको छ । उपस्थित दर्शकहरूले फिल्मको कथासँग भावनात्मक रूपमा जोडिएको र यसले आफ्नै परिवारको याद दिलाएको प्रतिक्रिया दिएका छन् ।

कलाकारहरू केकी अधिकारी र गायिका अञ्जु पन्तलगायत फिल्म हेर्दा रोइरहेका देखिन्थे । ‘पूर्णबहादुरको सारंगी’ जस्तो सफल फिल्मपछि विजय बरालको मुख्य भूमिकामा रहेको यो वर्षको पहिलो फिल्म हो । पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशक हिमाल न्यौपाने हुन् भने निर्मातामा कमल न्यौपाने र विमल न्यौपाने रहेका छन् । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।

यो फिल्म भोलि अर्थात् भदौ ६ गते शुक्रबारदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ । प्रदर्शनको पूर्वसन्ध्यामा फिल्ममा समावेश ‘आधा आधी सपना’ बोलको गीत पनि युट्युबमा सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार