सोमवार, श्रावण २५ गते २०८३

अमेरिकामा साढे ५ करोडभन्दा बढी विदेशी नागरिकको भिसा सूक्ष्म परीक्षण गरिने

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैध भिसा लिएर अमेरिकामा रहेका झन्डै साढे ५ करोडभन्दा बढी विदेशी नागरिकको समीक्षा गर्ने भएको छ ।

यदि कुनै पनि किसिमको नियम उल्लङ्घन गरेको पाइएमा तत्काल भिसा खारेज गरेर देश निकाला गर्ने तयारी ट्रम्प प्रशासनको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार सबै किसिमका भिसा लिएर बसेकालाई निरन्तर अनुगमन गर्ने व्यवस्था लागू गरिएको छ ।

तोकिएको समयभन्दा बढी बस्ने, कानून उल्लङ्घन गर्ने, सार्वजनिक सुरक्षामा खतरा पुर्‍याउने वा आतंकवादी गतिविधिमा संलग्न हुनेहरूलाई तत्काल कारबाही गर्ने भनिएको समाचार संस्था एपीले जनाएको छ ।

अमेरिकी विदेश विभागले प्रत्येक भिसा धारकको निरन्तर निगरानी गरिने बताएको छ। यदि कसैको बारेमा त्यस्तो कुनै जानकारी बाहिर आयो जसको कारणले गर्दा उसलाई भिसा प्राप्त गर्न योग्य मानिएको छैन भने उसको भिसा रद्द गरिने र देश बाहिर पठाइने विभागले जनाएको छ।

विभागका अनुसार अनुसन्धान विशेष गरी भिसाको म्यादभन्दा बढी बसेको, आपराधिक गतिविधिमा संलग्न भएको, सार्वजनिक सुरक्षालाई खतरामा पार्ने, आतंकवादी गतिविधिमा संलग्न भएको वा कुनै आतंकवादी संगठनलाई समर्थन गरेको जस्ता मुद्दाहरूमा केन्द्रित हुने छ।

विदेश मन्त्रालयले अहिलेसम्म विद्यार्थी भिसा सबैभन्दा बढी खारेज भएको जनाएको छ । पछिल्लो वर्षको तुलनामा यस वर्ष विद्यार्थी भिसा खारेज हुने सङ्ख्या चार गुणा बढी भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विदेशीको बढ्दो सङ्ख्याले अमेरिकी रोजगारीमा असर पारेको टिप्पणी गरेका छन् ।

भिसा पाएकाहरुको सामाजिक सञ्जाल, गृहदेशका आप्रवासन तथा कानूनी अभिलेख र अमेरिकामा भएका गतिविधिसम्मको परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयका अनुसार ट्रम्प फेरि राष्ट्रपति बने यता छ हजारभन्दा बढी विद्यार्थी भिसा खारेज गरिएको छ । तीमध्ये झन्डै चार हजार कानून उल्लङ्घनका कारण र झन्डै तीन सय आतङ्कवादी गतिविधिमा संलग्न भएको कारण खारेज गरिएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार