आइतवार, श्रावण २४ गते २०८३

वीरगन्जमा ७१ जनामा हैजा संक्रमण पुष्टि, २२ जना आइसीयूमा (विज्ञप्तिसहित)

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । वीरगन्जमा हाल सम्म ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्ज महानगरपालिकामा फैलिएको हैजा संक्रमण ७१ जनामा पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले महानगरपालिकाको ११, १२, १३ र १६ वडाका १९४ जनामा झाडापखाला लागेर उपचार भइरहेको जनाएको छ । ती मध्ये २२ जनाको आइसीयू र ६ जनाको एचडीयूमा उपचार भईरहेको छ । हैजा पहिचान भएका व्यक्तिहरूको दिसाको नमुना संकलन गरी २२ वटा नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा तथा १० वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणलाई पठाएको जनाएको छ ।

मन्त्रालयले हैजा फैलाउने स्रोत पहिचान गर्न ३ वटा पानीका स्रोतबाट नमूनाहरू संकलन गरी प्रयोगशालामा हैजा जीवाणु परीक्षणका लागि पठाइएको जनाएको छ । त्यस्तै हैजा संक्रमणबाट वीरगन्जमा ३ जनाको मृत्यु भएको छ । मन्त्रालयले गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखाला, हैजा तथा अन्य पानीजन्य रोगहरू फैलिने भएकाले  सतर्क रहन आग्रह गरेको छ ।

सरुवा रोगहरुबाट सुरक्षित रहन पिउने पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र प्रयोग गर्ने, व्यक्तिगत तथा खानेकुराको सरसफाइमा विशेष ध्यान दिने, खुला स्थानमा दिसा नगर्न, चर्पीको अनिवार्य प्रयोग गर्ने, र दिसा पिसाब गरिसकेपछि र खानाखानु भन्दा अगाडि साबुन पानीले अनिवार्य हात धुन आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार