काठमाडौं । सरकारले विगतमा गरेका सहमतिहरूलाई पूर्णतः बेवास्ता गर्दै विद्यालय शिक्षा विधेयक–२०८० अघि बढाएको आरोप लगाउँदै नेपाल शिक्षक महासङ्घले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
आफ्ना मागहरू सम्बोधनका लागि राजनीतिक दबाब सिर्जना गर्ने उद्देश्यले महासङ्घले बिहीबार नेकपा (एमाले) कार्यालयमा दुई घण्टा धर्ना दिएको छ । शिक्षकहरूको एक हुल टोली पार्टी कार्यालय च्यासल पुगेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कार्यालय घेराउ गरेका थिए ।
यसअघि बुधबार प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पनि महासङ्घले दुई घण्टा धर्ना दिएको थियो । सरकारसँग भएका सहमति र संसदीय समितिबाट पारित विधेयकको व्यवस्थामा ठूलो अन्तर देखिएपछि आन्दोलनमा उत्रनुको विकल्प नभएको महासङ्घको भनाइ छ ।
भदौ १३ गते नेकपा (माओवादी केन्द्र) को पेरिसडाँडास्थित कार्यालयमा पनि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिने महासङ्घको तयारी छ ।