आइतवार, श्रावण २४ गते २०८३

फिल्म ‘माइतीघर’को शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा सञ्जीवनीको स्वर सुन्न सकिन्छ ।

‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा किरण खरेलको शब्द, स्वर्गीय जयदेवको संगीत रहेको छ । यो गीतको ओर्जिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर समावेश थियो । तर, ‘माइतीघर’ नामक पुरानो नेपाली फिल्मको बहुचर्चित गीतलाई निर्माता रोहित अधिकारी र उनको टिमले पुनः बजारमा ल्याएको हो । गीतको भिडिओमा अभिनेत्रीद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पा फिचर्ड रहेका छन् ।

गीतको भावअनुसारको लोकेशन र छायांकनपक्षले पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ । भिडिओमा हरेक शब्दअनुसारको लोकेशन छनोट गरिएको छ । मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन रहेको यो फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेको फिल्ममा रामशरण पाठकको लेखन छ ।

यस फिल्ममा उपासना र श्यामाश्रीसहित केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ । चन्द्रकुमार दोङको कथा रहेको फिल्म असोज १३ गते दशैंको फूलपातीबाट रिलिज हुँदैछ । यो गीतको भिडिओ प्रतियोगीताको समेत घोषणा भइसकेको छ ।

४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये एक जना उत्कृष्ट दर्शकलाई ५ लाख नगद पुरस्कार दिने घोषणा फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले गरिसकेका छन् । गीत सार्वजनिक भएसँगै अब दर्शकले भिडिओ बनाउन सक्नेछन् ।

https://youtu.be/1LPA0qSJTBs?si=YbKmNzcWqOxECx6w

प्रतिक्रिया
सम्बन्धित समाचार