काठमाडौं । एमालेबाट अलग भएको माधवकुमार नेपाल समूहलाई सत्ता गठबन्धनले ‘उच्च प्राथमिकता’ मा राखेर अवसर दिएको छ। नयाँ पार्टीको मान्यता पाइनसके पनि नेपालले सिफारिस गरेका व्यक्तिले धमाधम नियुक्ति पाउन थालेका छन्।
केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्दै प्रतिनिधिसभाको पुन:स्थापना र शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माणमा नेपालको जोखिमपूर्ण कदम निर्णायक रहेको भन्दै गठबन्धनले शक्ति बाँडफाँटमा महत्त्वका साथ अवसर दिन सुरु गरेको छ।
संघ र प्रदेश सरकारबाहेक ओली नेतृत्वको सरकारले गरेका करिब एक हजार नियुक्ति प्रक्रिया पुर्याएर खारेज गर्ने र त्यहाँ नयाँ नियुक्ति दिँदा नेपाल समूहलाई २० देखि २५ प्रतिशतसम्म अवसर दिने सहमति छ।
यसैअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी हुन्। शर्मा नेपाल प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव थिए।
अहिलेसम्म लुम्बिनीमा माओवादी, गण्डकी र प्रदेश २ मा कांग्रेसले प्रस्ताव गरेका व्यक्ति प्रदेश प्रमुख नियुक्त भएका छन्। स्रोतका अनुसार नेपालले अझै एउटा प्रदेशमा प्रमुख पाउने सम्भावना छ।
यसबाहेक नेपाल पक्षले रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धक पाएको छ। नेपाल पक्षको सिफारिसमा सरकारले नीरञ्जन झालाई महाप्रबन्धक नियुक्त गरेको छ ‘अन्य नियुक्तिमा पनि नेपाल पक्षको सम्मानजनक सहभागिता रहनेछ,’ कार्यदलमा रहेका एक नेताले भने। ती नेताका अनुसार नेपालले पाँच मन्त्री र एक राज्यमन्त्री मागेका छन्, मागेअनुसार मन्त्रालय दिने करिब–करिब सहमति भइसकेको छ। आजको कान्तिपुर दैनिकमा समाचार छ।