काठमाडौँ । नुवाकोटसहित पश्चिम बागमती भेगलाई लक्षित गरेर अस्पताल सञ्चालन गरिएको छ। आधुनिक रुपमा सञ्चालित अस्पतालको बिहीबार पूर्वराष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका हुन्।
यससँगै नुवाकोट, रसुवा र धादिङवासीलाई सेवा दिनका लागि तारकेश्वरमा पूर्ण क्षमतासहित ‘शुभम इन्टरनेसनल अस्पताल’ सञ्चालनमा आएको छ।
पछिल्लो समय स्वास्थ्य क्षेत्र महँगो रहेको गुनासो आइरहेका बेला आमनागरिकलाई सर्वशुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ पहिलो चरणमा २४ शय्याको अस्पताल सञ्चालन गरिएको सञ्चालक समितिले जनाएको छ। तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकमा पूर्ण क्षमतासहित उक्त ‘शुभम् अन्तर्राष्ट्रिय अस्पताल’ को उद्घाटन गर्दै डा। यादवले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सुझाव दिए।
उनले मानवको स्वास्थ्य अधिकार महत्वपूर्ण रहेका कारण पारदर्शी रूपमा सेवा प्रदान गर्न पनि आग्रह गरे। डा। यादवले आम जनताको पहुँचमा सेवा पुग्ने तरिकाले अघि बढ्न सुझाव दिए। उनले भुइँ मान्छेदेखि भीआईपीसम्म अट्ने गरी स्वास्थ्य सेवा दिन सक्ने क्षमता अस्पतालले राखोस् भनी शुभकामनासमेत दिए। ‘म क्यान्सरको बिरामी छु, ८३ वर्षको पुगेँ। भोलि यही अस्पतालमा ट्रिटमेन्टका बेलामा आउनुपर्यो भने मैले राम्रो उपचार पाउँछु भनेर आशा लिएको छु।’, उनले भने ।
डा. यादवले लगानीकर्ताले लगानीअनुसार प्रतिफल खोज्ने भए पनि स्वास्थ्य क्षेत्रमा गरिएको लगानीबाट प्रतिफलभन्दा पनि जनताको सेवा प्रमुख सोचेर काम गर्नसमेत आग्रह गरे। सोही कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नुवाकोट २ का प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले अस्पताललाई समुदायमुखी भएर काम गर्न सुझाव दिए।