काठमाडौं । दिनेश राउतको निर्देशन रहेको फिल्म ‘कुमारी’ को छायांकन सुरु भएको छ ।
मङ्गलबार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा फिल्मको शुभ मुहूर्त गर्दै पाटन क्षेत्रबाट सुटिङ थालिएको हो । शुभमुहूर्तमा चलचित्रका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति थियो । फिल्मको सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ । यस फिल्ममा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा रहेका छन् । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ ।
बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । यसअघि नै ‘कुमारी’ घोषणा र पोस्टर तथा कलाकार सार्वजनिक कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुति रहेको यही चलचित्र ‘कता छौ’ बोलको गीत चर्चामा रहेको छ । गायक लिम्बुले पार्श्व गायनमा यही चलचित्रबाट डेब्यु गरेका हुन् ।
‘कुमारी’ मा सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ, र प्रशान्त सिवाकोटीको रहेको छ भने गीतमा स्वर केहर सिंह लिम्बुले नै दिएका छन् । गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन् । निर्देशक राउतले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’जस्ता सफल प्रेमकथामा आधारित चलचित्र निर्देशन गरेपछि सामाजिक विषयमा केन्द्रित ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता चलचित्र पनि निर्देशन गरेका थिए । उनी ‘कुमारी’ मार्फत फेरि प्रेमकथाको फिल्ममा फर्किएका छन् ।
सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन् । चलचित्रको अन–स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन् । चलचित्रमा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ ।