आइतवार, श्रावण २४ गते २०८३

जुस खाएर अनसन तोडे डा. गोविन्द केसीले

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनसन तोडेका छन् ।

डा. केसीले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर २ बजे अनसन तोडेका हुन् । गत आइतबारदेखि अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो । अनशनरत अवस्थामा थप उपचार गर्न भने उनले इन्कार गरेका थिए ।

डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिँउसोदेखि सत्याग्रह सुरु गरेका हुन् । चिकित्सा शिक्षा आयोगको साउन ३० मा बसेको बैठकले निजी मेडिकल कलेजमा एमबीबीएसको सिट १३० सम्म दिने निर्णय गरेको थियो । आवश्यक मापदण्ड नै पुरा नगरेका निजी मेडिकललाई जथाभावी सिट तोक्दा गुणस्तर खस्कनुका साथै स्वास्थ्य सेवामा ह्रास आउने उनको भनाइ रहेको छ ।

डा. केसी भन्छन्, ‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ, तर शिक्षाको गुणस्तर खस्किन्छ । गुणस्तर खस्कनुको अर्थ स्वास्थ्य सेवामा ह्रास आउनु हो, जुन आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु हो ।’ चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयहरूले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धरापमा पारेको डा. केसीले बताएका छन् ।

सत्याग्रहसँगै डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यसैगरी अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दी सम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि डा. केसीले माग राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार