काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गरेपछि निकै प्रशंसा पाइरहेको छ । प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गरेपछि रास्वपाको तारिफ यतिबेला कांग्रेस एमालेका नेताहरुले नै गरिरहेका छन् । उता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने रास्वपाकै बाटोमा हिडेको छ ।
राप्रपाले पनि आन्तरिक निर्वाचन (प्राइमरी इलेक्सन) को माध्यमबाट रुपन्देही ३ मा उम्मेदवार छनोट गर्ने भएको हो । रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भएर आएका आकांक्षीहरुबीच प्रारम्भिक निर्वाचन गराउने राप्रपाको तयारी छ । आज बसेको राप्रपा संसदीय समितिको बैठकले यस्तो निर्णय लिएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
पार्टी अध्यक्ष एवं संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नवीन कार्ययोजनाको मोडलअनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
आन्तरिक प्रारम्भिक निर्वाचन यथाशिघ्र गरिने र सोको आवश्यक प्रबन्ध रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने निर्णय भएको छ । प्रारम्भिक निर्वाचनमा रुपन्देही–३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले मतदान गर्न पाउनेछन् । आइतबार मात्रै रास्वपाले प्राइमरी इलेक्सनबाट डा. लेखजंग थापालाई उम्मेदवार छनोट गरेको छ । प्राइमरी इलेक्सनबाट उम्मेदावर छनोट गर्दा पार्टी नेतृत्वको चाकडि गर्ने चलनको अन्त्य हुनसक्छ ।
के हो, प्राइमरी इलेक्सन ?
कुनै राजनीतिक दलले निर्वाचनका लागि आफ्नो उम्मेदवार छान्ने प्राथमिक निर्वाचन हो, यो । जसमा पार्टी सदस्यले (मतदाता) आफ्नो दलको आधिकारिक उम्मेदवार चयन गर्छन् । जो प्राथमिक निर्वाचनमा सर्वाधिक लोकप्रिय हुन्छ, उही उम्मेदवारका लागि छनोट हुन्छ ।
कुनै व्यक्ति संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार बन्न चाहन्छ भने, ऊ पहिले आफ्नो निर्वाचन क्षेत्रभित्र हुने प्राथमिक निर्वाचनमा सहभागी हुनुपर्छ । त्यहाँ उसले सदस्यको (मतदाताको) भोट लिनुपर्छ । जसले सबैभन्दा धेरै भोट पाउँछ, उही नै आधिकारिक उम्मेदवार । यो उम्मेदवार बन्न चाहनेहरू बीचको योग्यताको प्रतिस्पर्धा हो ।
यसमा न त पार्टी सभापतिको आशीर्वाद लाग्छ, न त टिकट लिलामीमा राखिन्छ । यो प्रक्रियाले एकातिर राजनीतिक दललाई उम्मेदवार चयन गर्न सहयोग पुर्याउँछ, अर्कोतिर उम्मेदवार स्वयं सदस्य वा मतदाताप्रति उत्तरदायी हुन्छ । यसले टिकट खरिद बिक्री रोकिन्छ । पार्टीभित्र गुटको रजगज र मोलमोलाइ बन्द हुन्छ । दलभित्रको सिन्डिकेट अन्त्य हुन्छ ।