काठमाडौं । अफगानिस्तानको सत्ता तालिबानले कब्जामा लिएपछि हाल त्यहाँ अन्य अस्थिरता संगै मानिसहरु चरम मुल्यवृद्धीको मारमा परेको समाचार सार्वजनिक भएको छ । समाचार अनुसार एकातिर राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ, अर्कोतिर बैंकिङ सेवा ठप्प भएको छ ।
गत हप्ता तालिबानले देश कब्जा गरेपछि निम्तीएको अस्थिरताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि गरेका छन् । खामा प्रेसकाअनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् ।
बैंकहरू बन्द गर्दा मानिसले आफ्नो बैंक खातामा पैसा भएपनि आफ्नो रकम झिक्न बैंकिङ पहुँच प्राप्त गर्न सकिरहेका छैनन् । त्यस्तै सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेको जनाइएको छ ।
शनिबारको दिन साराई शाहजादाले एक बयानमा बताएअनुसार मुद्रा सटही बजार केन्द्रीय अफगानिस्तानको केन्द्रीय बैंक, अफगानिस्तान–डे अफगानिस्तान बैंकमा प्रत्यक्षरूपमा निर्भर हुने भएकोले उक्त बैंकले सेवा सञ्चालन पुन:आरम्भ नगरेसम्म बन्द रहने खामा प्रेसले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ । निजी बैंकले अनिश्चितकालका लागि बन्द रहने घोषणा गरेका बेला सरकारी बैंक खुल्नेबारे कुनै औपचारिक घोषणा भएको छैन ।