काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेपछि नेकपा एमालेले पठाएको केन्द्रीय सदस्य अध्यावधिक विवरण निर्वाचन आयोगले अस्वीकार गरेको छ । अयोगले एमालेको पुरानै कमिटीलाई मान्यता दिएको छ । माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझीसहित २६० केन्द्रीय सदस्य रहेको भन्दै दलको किताब अध्यावधिक गर्न एमालेले आयोगलाई सूची बुझाएको थियो ।
तर, आयोगले पार्टी ०७५ जेठ २ मै फर्काउनुपर्ने अदालतको फैसलाअनुसार दुई सय ३ केन्द्रीय सदस्यलाई मान्यता नदिने भएको जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालको पार्टी दर्ता प्रक्रियामा २० प्रतिशत पुग्न नदिने रणनीतिअनुसार केन्द्रीय सदस्य अध्यावधिक गर्न आयोगमा सुची पठाएका थिए । आयोगको यस्तो निर्णयले भने माधव नेपाललाई राहत मिलेको छ ।
नेता नेपालको नयाँ पार्टी ओगमा दर्ता प्रक्रियामा छ । नेपालले आयोगमा दिएको निवेदनमा ५८ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । आयोगले सनाखतको लागि बुधबार बोलाएको छ । एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ बसेका छन् भने ओलीको पक्षमा ८८ जना मात्रै देखिएका छन् ।