काठमाडौँ । सत्तारुढ दल कांग्रेस–एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन निकै प्रयत्न गरे । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख रानालाई हटाएर आफ्नो मान्छेलाई उपसभामुख बनाउन लागि परेका हुन् ।
सुरुमा रानालाई हटाउन उनीहरुले मानवतस्करको आरोप लगाए । तर, दुई तिहाइको दम्बमा उपसभामुख हटाउन लागिएको भन्दै आलोचना भएपछि ओली देउवालाई पहिलो गासमै ढुंगा लाग्यो । अर्थात पहिलो योजना असफल भयो ।
यही भदौ ३ गते पनि रानालाई हटाउने योजनासहित कांग्रेस–एमालेका सांसदहरूले खाली पानामा हस्ताक्षर गरेका थिए। तर, कांग्रेसभित्रै शेखर कोइराला समूहले नमान्दा ओली देउवाको दोस्रो योजना पनि असफल भयो । अब ओली देउवाले उपसभामुख रानालाई हटाउनको लागि तेस्रो योजना बनाएका छन् ।
जुन योजना अनुसार केही दिनमै उपसभामुखमाथि ‘पद अनुरुपको आचरण नगरेको’ प्रस्ताव दर्ता गर्ने तयारी छ। यो तेस्रो योजना हुनेछ। दर्ता भएको प्रस्ताव दुई तिहाइ मतले पारित भए मात्र उपसभामुख पदमुक्त हुने व्यवस्था छ।
यसका लागि पार्टीभित्रका सांसदलाई एकढिक्का राख्न देउवा र ओली नै सक्रिय भएका छन्। उनीहरूले कोइरालासँग सहयोग समेत मागिसकेका छन् । देउवा–ओली अब भने कोइरालालाई विश्वासमा लिएर अघि बढ्ने निचोडमा पुगेका हुन् । यदि शेखर कोइरालाले मानेको खण्डमा भने उपसभामुखलाई पदबाट हटाउने ओली देउवाको तेस्रो योजना सफल हुनेछ । अर्थात कोइराला तयार भए दुईतिहाइ मत पुग्ने छ ।
सरकारमै रहेकाले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका ७, जनमत पार्टीका ६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४ जनाले मत दिने निश्चित छ। नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन्। तर, अध्यक्ष रञ्जिता श्रेष्ठको निश्चित छ। अब कोइराला तयार भए दुईतिहाइ मत पुग्ने उनीहरूको विश्लेषण छ। त्यही भएर ओली–देउवाले कोइरालालाई भेटेर सहयोग गर्न आग्रह गरिसकेका छन्। यदि शेखरले अटेर गरे देउवा–ओली आफ्ना सांसदलाई ह्विप लगाउने निचोडमा पुगेका छन्।