काठमाडौं । कर्णाली प्रदेश सरकारका एक मन्त्री माथी बलात्कारको आरोप लागेको छ। प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको हो ।
केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए। ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आएको प्रहरीका अनुसन्धान अधिकारीले जानकारी दिए। ती अधिकारीकाअनुसार उनीहरुले भिडियो पनि देखाएका थिए। उनीहरुले भनेअनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएको प्रहरीले जनाएको छ।
भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ। महिलाले ढोका खोल्छिन्। भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन्।
त्यसपछि महिला रोएको देखिन्छ। मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन्। प्रहरीको सम्पर्कमा पुगेका पीडितले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। जति बेला शाही प्रदेश सांसदमात्रै थिए।
प्रहरीसम्म यो घटना ढिलो गरी पुग्नुमा पीडितले तत्कालीन सांसद एवं हालका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको अनुमान गरिएको छ। रकममा कुरा नमिलेपछि बल्ल प्रहरीमा पुगेको आशंका छ।
आफूलाई मन्त्री शाहीको प्रेस सल्लाहकार बताउने सचिवालयका कर्मचारी नन्दकृष्ण अधिकारीका अनुसार ती महिलाका पति यसअघि शाही सांसद हुँदा स्वकीय सचिव थिए। ‘मन्त्री भएपछि उहाँले सचिवालयबाट हटाउनुभयो,’ अधिकारीले भने, ‘त्यसपछि मात्रै यो घटना बाहिर आएको हो।’ उनले थपे, ‘मन्त्रीज्यू यो घटनालाई ग्रान्डडिजाइन भन्नुहुन्छ। मन्त्री भइसकेपछि सचिवालयबाट हटाएको झोकमा यस्तो आरोप लगाइएको हो।’ शाही गत वैशाखमा मन्त्री भएका हुन्।