काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले आइतबार शिष्टाचार भेट गरेका छन्।
आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्धका साथै दुई पार्टीबिचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।
सो भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार कांग्रेस र भाजपाबिचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको थियो।
दुई दलबिच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा. महतले बताए। सहमहामन्त्री डा. महतको निमन्त्रणामा चौथाइवाले नेपाल आएका हुन्।