काठमाडौं । जेनजी आन्दोलनका कारण बन्द भएका देशभरका सिनेमाहलहरू भोलिबाट खुल्ने भएका छन् ।
आइतबार (आज) बसेको चलचित्र संघको बैठकले सोमबारदेखि हल सञ्चालनमा ल्याउने निर्णय गरेको हो । संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर संचालनमा ल्याउन लागेको हो । तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरस्थित क्यूएफएक्सको हलबाहेकका अन्य १६४ वटै हल संचालनमा आउने बताइएको छ ।
केही सर्तसहित हल खोल्न लागिएको संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले जानकारी दिएका छन् । उनका अनुसार स्थानीय सुरक्षा निकायलाई जानकारी दिएर हल संचालन हुनेछन् । रात्रीकालिन शोलाई समेत कडाइ गर्दै राती १० बजेभित्र हल बन्द गर्ने गरि हल सञ्चालन गर्न लागिएको समेत उनको भनाइ रहेको छ ।
सोमबारदेखि हल खुल्ने भएपछि हल संचालक सरसफाइमा जुटेका छन् । चलचित्र संघका अनुसार आन्दोलनका कारण देशभरका ५ वटा हलमा क्षति पुगेको थियो ।