काठमाडौं । काठमाडौका घरजग्गा तथा सम्पत्ति कर नतिर्ने करदाताको घर र कार्यालयमा पञ्चेबाजासहित नाचगान गरिने भएको छ । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाउने भएको हो ।
यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने करदाताको नाम सार्वजनिक गरिसकेको महानगरपालिकाले अझै करदाता कर तिर्ने प्रक्रियामा नआएपछि यस्तो जुक्ती निकालेको हो । बुधबारदेखि पञ्चेबाजा बजाउन लागिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।
नामै सार्वजनिक गर्दा पनि करदाता प्रक्रियामा नआएपछि पञ्चेबाजा बजाएर रचनात्मक तरिकाले करदातालाई कर तिर्न सचेत गराउन थालेको उनले बताए । अधिकारीका अनुसार करदाताबारे जानकारी दिएर गीत तयार गर्न र पञ्चेबाजा बनाउन बालाजुको एक महिला पञ्चेबाजा समूहलाई जिम्मा दिइएको छ । महिलाहरुको सूमहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आह्वान गर्ने छ ।
कर नतिर्नेहरूको सूचीमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालदेखि व्यवसायी अजेय राज सुमार्गीसम्मको नाम छ । नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी सञ्चयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय तथा संस्थानले पनि कर तिर्न अटेरी गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ ।
हालसम्म ७२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । ति मध्य कतिपय सम्पर्कमा आएर कर तिर्ने प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । करदाताबाट करीब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउन बाँकी रहेको महानगरले जनाएको छ ।