काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा साझा उम्मेदवार बनाउन संस्थापन इतर पक्ष सहमत भएका छन् । महाधिवेशन नजिकिँदै गर्दा सभापतिको आकांक्षी रहेका संस्थापन इतर पक्षबीच साझा उम्मेदवार बनाउने विषयमा छलफल तिव्र पारिएको छ ।
बत्तीसपुतलीमा सोमबार भएको संस्थापन इतर पक्षका सभापतिका आकांक्षीहरुबीच भएको छलफलमा पार्टीको आसन्न महाधिवेशनमा सहमतिमा साझा उम्मेदवार उठाउने सहमति भएको जनाइएको छ । आजको बैठकमा सभापतिको आकांक्षी रहेका रामचन्द्र पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरू सहभागी थिए ।
छलफलमाा साझा उम्मेदवार विषयमा सहमती भएपनि कसलाई उठाउने भन्ने विषय भने टुङ्गो नलागेको जनाइएको छ । फेरी हुने छलफलमा यसको टुङ्गो लगाइने छ । त्यस्तै, क्रियाशील सदस्यता विवादको विषयमा आफू पक्षीय जिल्ला सभापतिहरुले राखेको मागलाई सम्बोधन हुने गरी समाधान खोज्नुपर्ने पनि बैठकले निष्कर्ष निकालेको छ ।