काठमाडौँ । भदौ २४ गते जेनजी आन्दोलन चर्किएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुटुक्क भागे । ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए लगत्तै भागेका हुन् ।
नेपाली सेनाले प्रचण्ड र ओलीलाई शिवपुरी लगेको थियो । तर, जेनजी आन्दोलनले उग्ररुप लिँदासमेत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा भने आफ्नै निवास बुढानीलकण्ठमा थिए ।
सेनाले देउवालाई खतरा बढेको भन्दै पटक पटक सुरक्षित स्थानमा लैजाने भन्दै तोकता गरेको थियो । देउवालाई आरजुले पनि भाग्ने सल्लाह दिएकी थिइन । तर, निवास छाडेर भागेपछि गलत सन्देश जाने भन्दै देउवा घरबाट बाहिर गएनन् ।
आक्रोशित जेनजीहरुले देउवाको निजि निवासमै देउवा र आरजुमाथि आक्रमण गरे । प्रदर्शनकारीको आक्रमणमा परेर घाइते भएका देउवा र उनकी पत्नी आरजुलाई नेपाली सेनाले उद्धार गरी शिवपुरीस्थित स्टाफ कलेजमा लगेर राखेको छ ।
जेनजी आन्दोलनले सरकार परिवर्तन भएको छ भने अहिले माहोल सेलाइसकेको छ । माहोल सान्त भएसँगै प्रचण्ड भने सार्वजनिक भएका छन् । उता ओलीले पनि अबको एक दुई दिनमा काठमाडौँ आउने बताइसकेका छन् ।
प्रचण्ड र ओलीले मुख खोल्दा देउवा भने गुमनाम छन् । अहिलेसम्म देउवाले एक शब्द पनि बोलेका छैनन् । देउवा नबोल्नुको कारण भनेको उनको टाउकोमा गम्भीर चोट लागेको छ । र, ओलीको घमण्डले आफूमाथि आक्रमण भएको देउवाको ठहर छ ।
भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमै रहेका देउवा दम्पतीलाई उद्धार गर्न सेनाको हेलिकप्टर पटक–पटक पुगे पनि प्रदर्शनकारीको भीड र ढुंगामुढा–बोतल प्रहारका कारण अवतरण गर्न सकेको थिएन ।
घरभित्र पसेर प्रदर्शनकारीले दम्पतीलाई लछारपछार गर्दै बाहिर निकालेपछि सुरक्षाकर्मी र केही स्थानीयको सहयोगमा उनीहरूलाई कम्पाउन्डको पर्खाल नाघेर नजिकैको खाली जग्गामा पुर्याइएको थियो त्यस क्रममा देउवा दम्पतीको गर्धन, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो। मेडिकल टोलीले खुला मैदानमै प्राथमिक उपचार गरेको थियो। तर ढुंगा प्रहार भइरहेकाले सुरक्षाकर्मीहरूले जस्तापाताले छेक्दै उनीहरूलाई गाडीमा राखेर शिवपुरी पुर्याएका थिए।
अहिले देउवा दम्पतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको देउवानिकट स्रोतले जनाएको छ। उनीहरू अझै एक हप्ताजति त्यहीँ बस्ने र सेनाका चिकित्सकहरूको निगरानीमै उपचार भइराखेको बताइएको छ। परिवारका सदस्य र केही निकट आफन्तबाहेक अन्यलाई भेट्न दिइएको छैन।