काठमाडौं । वेस्ट इन्डिजसँग शनिबारदेखि सुरु हुने टी–२० आई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार यूएई प्रस्थान गर्ने भएको छ ।
टोली फ्लाई दुबईबाट साँझ यूएई उड्ने भएको हो । नेपालको पछिल्लो परिस्थितिका कारण यूएईले एक सातापछि मात्रै भिसा दिएको थियो । यसअघि आवेदन दिएको दोस्रो दिनमै भिसा स्वीकृत गर्ने गरे पनि यसपटक ढिलाइ भएको हो ।
भिसामा ढिलाइ भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र यूूएई क्रिकेट बोर्डमार्फत पहल गरेको थियो । नेपालले सारजाहमा पहिलोपटक टेस्ट राष्ट्रसँग टी–२० आई सिरिज खेल्न लागेको हो । सेप्टेम्बर २७, २९ र ३० मा हुने सिरिजका लागि दुवै राष्ट्रले आ–आफ्नो टोली घोषणा गरिसकेका छन् ।
युनिटी कपका लागि अनलाइन टिकेट समेत खुला भइसकेको छ । क्यानले टोलीलाई बिहीबार नै विदाइ गरेको थियो ।