काठमाडौं । लामो समयदेखी कांग्रेसको टाउको दुखाईको विषय बनेको क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ । लामो समयदेखि जारी नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद सहमतिमै टुंगाएको हो ।
देउवा निवास बूढानीलकण्ठमा पूर्व महामन्त्री कृष्ण सिटौला तथा केन्द्रीय सदस्यद्वय डा.मिनेन्द्र रिजाल र रमेश लेखकले बाँकी रहेका विवादबारे तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमबार बुझाएको हो ।
प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताए । उनले महाधिवेशन सम्पन्न गर्न सबैको सहयोग अपेक्षा गरेको बताए । यसअघी छानबिन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो ।
तर छानबिन समितिले बारा र सप्तरी, धनुषा-४ सर्लाही-२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो ।