काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले आज पार्टी कार्यलयमा धर्ना दिँदै छन्। बिहान ११ बजेदेखि पार्टी कार्यलयमा धर्ना दिन लागिएको नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए।
पार्टीको क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै आज २० देखि २५ जना जिल्ला सभापतिहरूले धर्ना दिने भएका हुन्। सिम्बोलिकरुपमा आज २० देखि २५ सभापतिहरुले धर्ना दिन्छौँ। भोली देखि चाँही २–३ जनाले मात्रे धर्ना दिन्छौँ। केसीले शैली न्युजसंग भने। उनले माग पुरा नभएसम्म धर्ना जारी रहने चेतावनी पनि दिए।
विधिसम्मत तरिकाले क्रियाशील सदस्यताको त्रुटि सच्याउन दिएको समय सकिएकाले सार्वजनिक हुनु पर्ने माग उनीहरुको छ।यसअघि शनिबार उनीहरुले सोमबारसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै सभापति शेरबहादुर देउवालाई दुई दिने अल्टिमेटम दिएका थिए।
यस्ता छन् पोडेल समूहका जिल्ला सभघापतिका माग
१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस्।
२. क्रियाशील सदस्यता तहगत निर्णय गरिएको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस्।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस्।
त्यस्तै निर्वाचन प्रक्रियामा सबै जिल्ला सभापतिको एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि उनीहरुले माग गरेका छन्। उनीहरुले केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायत आन्दोलन थालिने बताएका छन्।