आइतवार, श्रावण २४ गते २०८३

अन्तरिम सरकारको टार्गेटमा आरजु, देउवापुत्र जयवीरको घरदेखि ससुरालीसम्म छापा, कागजात नियन्त्रणमा

सोमवार , आश्विन १३, २०८२

काठमाडौँ । अन्तरिम सरकारको टार्गेटमा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा परेकी छन् । विगतमा आरजुमाथि पटक पटक भ्रष्टाचारको आरोप लागेको थियो ।

नक्कली शरणार्थीदेखि स्वीस बैंकमा कालो धन राखेको आरोप लागेको छ । गत भदौ २४ गते जेनजीहरुले बुढानिलकण्ठमा रहेको आरजुको निजि निवासमा आगो लगाउदा पैसाको बिटो भेटिएको थियो । सरकार उलटफेर  भएसँगै सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । कार्की नेतृत्वको सरकारको टार्गेटमा आरजु परेकी छन् । 

अन्तरिम सरकारले भ्रष्टाचारका काण्ड बाहिर ल्याउने मुख्य कार्यादेशसहित वर्तमान सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा भित्र्याएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीले ‘सर्च अपरेसन’ थालेका छन् । सीआईबीको टोलीले आरजुको माइती पक्षसँगका घरमा छापा हानेर खानतलासी गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएर राजनीतिक प्रभावमा उन्मुक्ति पाउँदै आएको आरोप लागेकी डा देउवामाथि सीआईबीले अनुसन्धान तीब्र पारेको हो । उनका भाइ भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका घरहरूमा सीआईबीले छापा मारेको छ । यससँगै आरजुपुत्र जयवीर बस्ने घरदेखि उनको ससुरालीसहित आफन्तका घरमा समेत सीआईबीले छापा हानेको छ ।

सीआईबी स्रोतका अनुसार जयवीरको घरबाट प्रहरीले कागजात नियन्त्रणमा लिएको छ । सानेपामा रहेको जयवीरको ससुराली र ससुरालीका नातेदार (कान्छा–जेठा) का घरमा समेत सीआईबीले छापा हानेको छ । जेनजी आन्दोलनको जगमा बनेको सरकारले भ्रष्टाचार काण्डमाथि निर्मम कारवाही अगाडि बढाउने नीति लिएको छ । 

अन्तरिम सरकारले भ्रष्टाचारमा मुछिएका तर,अहिले सम्म शक्तिको आडमा जोगिएकाहरुको नालिबेली एकएक गरेर बाहिर ल्याउने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार