काठमाडौँ । आज बडादसैँको मुख्य दिन, आश्विन शुक्ल दशमी अर्थात् विजयादशमी। देशभर मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदैछ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म विधिपूर्वक पूजा-आराधना गरिएको दुर्गा भवानीको प्रसाद आज मान्यजनबाट ग्रहण गरिन्छ।
टीका ग्रहणका लागि शुभ साइत खोज्नेहरूका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११:५३ बजेको समयलाई उत्तम साइत तोकेको छ। समितिका अनुसार, टीका लगाइदिने व्यक्ति पश्चिम र लगाइमाग्ने व्यक्ति पूर्व फर्केर बस्नु शुभ मानिन्छ। घटस्थापनाको दिन स्थापना गरिएको घडाको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउने परम्परा छ।
आज टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्न सक्नेछन्। समितिले देवी विसर्जनका लागि आज बिहान ९:२३ बजेको साइत उत्तम रहेको जानकारी दिएको छ। घटस्थापनामा राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ। वैज्ञानिक रूपमा समेत जमराले विभिन्न रोगमा औषधिको काम गर्ने पुष्टि भएको छ।
आयुर्वेद चिकित्सकहरूका अनुसार हाल फैलिरहेको डेङ्गु जस्ता रोगविरुद्ध लड्न जमराको जुसले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीलाई बडादसैँको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ। त्रेता युगमा आजकै दिन भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक विश्वास छ। आजको दिन गुरु पुरोहित, बुवाआमा, हजुरबुवा-हजुरआमा तथा अन्य मान्यजनबाट टीका-जमरा थापेर यश, ऐश्वर्य, र दीर्घायुको आशीर्वाद लिने गरिन्छ।