काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । क्रियाशील सदस्यताको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गर्नुपर्ने लगायत माग गरेर उनिहरुले मंगलबार विहान पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन् ।
मंगलबार करिब २ घण्टा धर्ना दिएका उनिहरुले माग पुरा नभए भोलीदेखी निरन्तर धर्ना दिने जनाएका छन् । धर्नामा नेता रामचन्द्र पौडेल पक्षका करिब २५ जना जिल्ला सभापति सहभागी थिए । उनिहरुले वडा, जिल्लाबाट आएका क्रियाशील सदस्यको नामावली काटेर केन्द्रबाट सिधै क्रियाशील सदस्यको नाम राखिएको आशंका गरेर पार्टीले टुङ्गो लगाएको सदस्यको विवरण वेवसाइटमा राख्न माग गरेका हुन् ।
साथै उनीहरूले महाधिवेशन प्रतिनिधि नै जिल्ला सभापति उठ्न पाउने विधानको व्यवस्था लागू गरिनुपर्ने माग पनि गरेका छन् । एक निर्वाचन क्षेत्र भएको ठाउँमा क्षेत्रीय प्रतिनिधि पनि जिल्ला सभापति उठ्न पाउने व्यवस्था नेतृत्वले गरेकोमा जिल्ला सभापतिहरूले आपत्ति जनाएका छन् ।
कांग्रेसले ९ लाख क्रियाशील सदस्य बनाएको छ । महाधिवेशन तय भएदेखी कांग्रेसमा क्रियाशील सदस्यता विवाद रहँदै आएको थियो । यसअघी सोमबार मात्रै सो विवाद टुङ्गो लगाउँदै प्रतिवेदन बुझाइएको थियो । त्यसको भोलीपल्ट यस्तो माग राख्दै जिल्ला सभापतिहरु धर्नामा बसेका हुन् ।