काठमाडौं । नेकपा एमालेको केन्द्रीय महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको छ ।
त्यसअघि विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडौंमा गर्ने तय गरिएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्ताव तयार गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
बैठकले २७ असारमा भएको १० बुँदे सहमतिअनुसार पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील बनाउने निर्णय गरेको छ । जसअनुसार पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय समिति, प्रदेश, जिल्लासहित सबै तहका पदाधिकारी र सदस्यलाई २०७५ जेठ २ गतेपूर्व क्रियाशील हुन निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
१० बुँदे सहमति कार्यान्वयनका क्रममा आइपर्ने समस्या समाधानका लागि तथा केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनयन, केन्द्रीय निकाय तथा विभागलाई पूर्णता दिन र पुनर्गठन गर्नका लागि कार्यदल बनाइएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।
एमालेको आजको स्थायी कमिटी बैठकमा लामो समय माधव नेपालको साथ रहेर नयाँ पार्टीमा नगएका १० जना नेताहरुपनि सहभागी भएका थिए । उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त, अमृतकुमार बोहोरा (अनुशासन आयोगका प्रमुख) झण्डै ६ महिनापछि पार्टीको स्थायी कमिटी बैठकमा उपस्थित भएका थिए ।