काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धका रिट दर्ता गरेको छ ।
रिटमाथि सुनुवाइका लागि कात्तिक १२ गते पेसी तोकिएको छ । रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने छ । मंगलबार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर एवं संसद् पुनःस्थापनाका लागि उत्प्रेषण, परमादेशको माग गर्दै १० वटा रिट निवेदन पेस भएका थिए ।
गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइ बाहेक सबै काम स्थगित गरिएको थियो ।
रिट निवेदन पेस गर्नेहरूमा अधिवक्ता डा.प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, खडकबहादुर शाह, आभास पोखरेल, आयुष भण्डारी, डम्बरप्रसाद शिवाकोटी, अनिल कार्की, अधिवक्ता दलबहादुर धामीसमेत रहेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार १० मध्ये ९ वटा रिट दर्ता भएका छन् भने एउटाको केही प्रक्रिया पुग्न बाँकी छ ।