काठमाडौँ । विगतमा नेकपा माओवादी केन्द्रका थुर्पै नेताहरु सत्ताको आडमा उन्मुक्ति पाउदैँ आएका थिए ।
माओवादीका संयोजक पुष्प कमल दाहाल प्रचण्ड आफू सरकारमा हुँदा अन्य दलका नेताहरुलाई जेलको हावा खुवाउन सफल भएता पनि आफ्नालाई भने जोगाएका थिए ।
तर, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले माओवादीमाथि अनुसन्धानको तीर तस्र्साएकी छन्। चिनियाँ गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको सुन तस्करी प्रकरणमा आइतबार महरालाई पक्राउ गरेको थियो । महरामाथि भन्सार ऐन र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
बुधबार जिल्ला अदालत काठमाडौँले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो। महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएसँगै केन्द्रीय कारागार सुनधारामा लगिएको छ।
२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको करिब ९ किलो सुन त्रिभुवन विमानस्थलमा नियन्त्रणमा परेपछि महरा र उनका छोरा राहुलले छुटाउन सक्रिय भूमिका खेलेका थिए । अनुसन्धानमा उनीहरूले भन्सार कर्मचारीहरूसँग २५६ पटक फोन सम्पर्क गरेको प्रमाण भेटिएको छ । भेप चोरी भएपछि मात्रै तस्करीको रहस्य खुलेको थियो ।
यसअघि राहुलविरुद्ध पूरक मुद्दा दायर भए पनि महरा छुटेका थिए । स्वास्थ्यका कारण उनलाई हाजिरी जमानीमा छाडिएपछि केस थन्किएको थियो । तर, डेढ वर्षपछि सीआईबीले पुनः पक्राउ गरेको हो । त्यस्तै, सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) माथि अनुसन्धान सुरु भएको छ । पुनका छोरा जितेन्द्र र दीपेश, साथै तिनका ‘वैदेशिक मामिला विज्ञ’ जीवन गुरुङमाथि पनि अनुसन्धान भइरहेको छ ।
२०८० फागुनमा सार्वजनिक गरेको भिडियोअनुसार जितेन्द्रले चीनमा ४ किलो सुन उधारोमा किनेर नेपाल भित्र्याएका थिए । उनले बाबुको पद दुरुपयोग गरी नक्कली परिचयपत्र प्रयोग गरेको प्रमाण भेटिएको छ । दीपेश पनि ६१ किलो र ९ किलो सुन तस्करी, नक्कली भुटानी शरणार्थी र सहकारी ठगी प्रकरणमा मुछिएका छन् । अन्तरिम सरकारले अब सत्ताको आडमा जोगिएका जुनसुकैलाई पनि नछाड्ने रणनीति अपनाएको छ ।