आइतवार, श्रावण २४ गते २०८३

अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि, खेलाडीहरूले जनही १९ लाख ५० हजार पाउने

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेपालले आईसीसी टी २० विश्वकप एसिया(ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित उपाधि जितेको हो ।

नेपाल शीर्ष स्थान रहँदै सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउँदा ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका हुन् । नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए ।

बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे ।

आसिफ शेख ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।

नेपालले ओमानमा जारी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेसँगै खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । 
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसार सो पुरस्कार रकम दिइने बताएका थिए । नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित रहँदै विश्वकप छनोटको उपाधि हात पारेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार