काठमाडौँ । बेलायतको स्कटल्याण्डस्थित युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्याण्ड मा अध्ययनरत सुदूरपश्चिमेली नेपाली विद्यार्थीहरूले यस वर्ष लक्ष्मी पूजा मनाएका छैनन् ।
देशभित्र तथा विदेशमा रहेका नेपाली समुदायहरूले हर्ष–उल्लासका साथ दीपावली पर्व मनाउने परम्परा अनुसार हिजो नेपालमा लक्ष्मी पुजा मनाएका थिए । तर, बेलायतमा रहेका सुदूरपश्चिमेली नेपाली विद्यार्थीहरूले विपिन जोशीको मृत्युले देश शोकमा डुबेकाले लक्ष्मी पुजा यस वर्ष नमनाएका हुन् ।
विद्यार्थी राजेश भट्टले भने, “यस वर्ष हामीले लक्ष्मी पूजा मनाएका छैनौँ, किनभने हामी सबै शोकमा छौँ।” नेपालबाट करिब दुई वर्षअघि लर्न एन्ड अर्न प्रोग्राम अन्तर्गत इजराल गएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशी हालै हमाशको बन्दीमा परी निधन भएका हुन्।
जोशीको पार्थिव शरीर हिजोमात्रै नेपालस्थित उनको घर पुगेको र परिवारजनसहित सम्पूर्ण सुदूरपश्चिम प्रदेश शोकाकुल बनेको जानकारी अवगत रहद विदेशमा रहेका विद्यार्थीहरूले लक्ष्मी पूजाको अवसरमा विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिका लागि दिप प्रज्वलन कार्यक्रम आयोजना गरेका थिए।
विद्यार्थीहरूका अनुसार, विदेशमा रहँदा हरेक नेपालीले आफ्नो अवस्थालाई ध्यानमा राख्दै सुरक्षित रहनु, एकअर्काको अवस्था बुझ्नु र अप्रिय घटनाबाट जोगिन सन्देश आदानप्रदान गर्नुपर्ने शिक्षा पनि यस घटनाबाट प्राप्त भएको छ।
साथै, देश, समाज र आफन्तहरूप्रति सम्झना र एकताको सन्देश दिँदै सुदूरपश्चिमेली विद्यार्थीहरूले विपिन जोशीको आत्माको चिरशान्तिको कामना गर्दै उनका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।