‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो’, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले बताए ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए। विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।
कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाण्डुमा अझै छ।