आइतवार, श्रावण २४ गते २०८३

अब ओली, लेखक, बालेन र सुदन पक्राउ नपर्ने, यस्तो छ कारण

आइतवार , कार्तिक ९, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी परेको लामो समय भएको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेज शाह, जेनजी अभियान्ता सुदन गुरुङ लगातविरुद्ध पनि उजुरी परेको झन्डै एक महिना पुग्दै छ । तर, ओली र लेखकविरुद्धको उजुरी अगाडि बढेको छैन । न बालेन र सुदनविरुद्धको उजुरी अगाडि बढेको छ । 
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले ओली र लेखकलाई पक्राउ गर्न पटक पटक दबाब दिइरहेका छन् । गृहमन्त्री अर्यालले पूर्वसरकार प्रमुखलाई तत्काल पक्राउ गरेर अगाडि बढ्न दबाब दिए पनि जेनजीतर्फ भने कारबाही नगर्न र पक्राउ गरिएकालाई पनि रिहा गर्न आदेश दिएका थिए। अर्यालको आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर हिरासतमा राखेका आन्दोलनरत पक्षका झण्डै २ सयलाई रिहा गरेको थियो। 

गृहमन्त्री अर्यालले ओली र लेखकविरुद्धको उजुरी दर्ता गरेर तत्काल पक्राउ गर्न भने पनि सुरक्षा प्रमुखहरूले तत्काल यसो गरे शान्ति सुरक्षाको अवस्था बिग्रने अडान लिएका थिए। 

प्रहरी लामो परामर्श र छलफलपछि तत्काललाई पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक, मेयर शाह, सुदन गुरुङलगातविरुद्ध यसबीचमा परेका उजुरी तामेलीमा राख्ने निष्कर्ष निकालिएको छ । जाहेरी तामेलीमा राख्नुअघि प्रहरी र सरकारी वकिलको कार्यालय काठमाडौँले लामो छलफल गरेका थिए। 

जेन जी आन्दोलनको घटना छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग बनाएको छ। उक्त आयोगले प्रतिवेदन नबुझाइ ओली र लेखकविरुद्धको मुद्दा अघि बढ्न नसक्ने निष्कर्ष प्रहरी तथा सरकारी वकिलको कार्यालयको छ। 

ओली र लेखकविरुद्ध हामी नेपालका संयोजक सुदन गुरुङले जाहेरी दिएका थिए। त्यसलगत्तै नेकपा एमाले र नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले बालेन र गुरुङविरुद्ध पनि जाहेरी दिएका थिए। अहिले यी सबैविरुद्धको जाहेरी तामेलीमा राखिएको हो।  जाहेरी तामेलीमा राखिएसँगै ओली, लेखक, बालेन र सुदन पक्राउ पर्ने सम्भावना टरेको छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार