काठमाडौं । सिन्धुपाल्चोकमा बुधबार बस दुर्घटनामा घाइते भएका ३ जनाको उपचारकोक्रममा मृत्यु भएको छ । बुधबार सुनकोसी गाउँपालिका-३ ठोकर्पा बाफलबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ४१ जना घाइते भएका थिए ।
जिल्ला प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घटनास्थलबाट तत्कालै उद्धार गरेर लगिएका दुईको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ललितपुर ठूलो दुर्लुङका ४५ वर्षीय राजन बराम र अर्को अन्दाजी २२ वर्षीय पुरुष रहेका छन् । एक जनाको सनाखत हुन बाँकी रहेको र घाइतेको संख्या बढेर ४१ जना पुगेको उनले पुष्टि गरे ।
कोशीपारी यातायातको बा ३ ख ८०३० नम्बरको यात्रुवाहक बस बुधबार दिउँसो सुनकोसी गापा छापगाउँ-सुकुटे-ठोकर्पा सडक खण्डको मोडमा अनियन्त्रित भइ करिव २५ मिटर तल खसेको थियो ।
घाइतेमध्ये १८ को सिन्धुसदाबहार अस्पताल, २२ जना काभ्रेको धुलिखेल अस्पताल र एक जनाको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ ।