काठमाडौं । महोत्तरीमा सौतेनी छोरोको हत्या आरोपमा आमा जेल चलान भएकी छन् । जिल्ला अदालतले छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक सौतेनी आमालाई जेल चलान गरेको हो ।
महोत्तरीको रामगोपालपुर नगरपालिका-६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई आज पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ । सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुवा चन्द्रकिशोर यादवलाई साधारण तारेखमा छोडिएको छ ।
सौतेनी आमा रागनीले बालक रितेशको घाँटी थिचेर हत्या गरेर घरदेखि ५० मिटर टाढा रहेको चन्देश्वर साहको बारीमा रहेको अम्बाको रुख नजिकै रहेको परालको कुन्युमुनि छोपेर राखेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
दश महिनाअघि जेठी पत्नी छँदाछँदै कान्छी पत्नी (रागनी) भित्र्याएपछि चन्द्रकिशोरलाई जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय आफ्ना दुई छोरालाई पतिकै जिम्मा छाडेर माइती गएर बस्दै आएकी थिइन् । साउन १४ गते दिउँसो उनको जेठो छोरा पाँच वर्षीय रितेशलाई सौतेनी आमा रागनीले घाँटी थिचेर हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि जेल पठाएको हो ।