काठमाडौं। गण्डकी प्रदेशका नौ जना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
कृष्णचन्द्र नेपाली पोखरेल, मुख्यमन्त्री
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको विवरणअनुसार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको कृषि विकास बैंकमा २५ लाख रुपैयाँ ऋण छ। तर, उनीसँग पाँच तोला सुन, श्रीमती लता पोखरेलका नाममा चितवनको गैँडाकोटमा २० लाख रुपैयाँ बराबरको घर छ।
पोखरेलको काठमाडौँ र तनहुँमा जग्गा छ। ती जग्गा किन्न २०७६ सालमा कृषि विकास बैंकबाट ऋण लिएको मुख्यमन्त्री पोखरेलले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। उनले तलबस्वरूप प्राप्त गरेको पाँच लाख रुपैयाँ एभरेस्ट बैंकमा मौज्दात रहेको देखाएको छन्।
कुमार खड्का, मन्त्री: भौतिक पूर्वाधार
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले आफैँले कमाएको र पैतृक सम्पत्तिको रूपमा आएको गरी पोखरा महानगरपालिका–१६ मा तीन सय ८२ वर्ग मिटरमा फैलिएको घर रहेको विवरण बुझाएका छन्।
उनीसँग एक करोडभन्दा बढी नगद मौज्दात, ५६ लाख रुपैयाँको शेयर र ९५ तोला सुन छ। उनको ऋण ८५ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
रामजीप्रसाद बराल, मन्त्री: अर्थ
अर्थमन्त्री रामजीप्रसाद बरालले बुझाएको सम्पत्ति विवरणमा २०७७ सालमा एनआइसी एसिया बैंकबाट एक करोड रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन्। चल(अचल सम्पत्तिका रूपमा चार तोला सुन, एभरेष्ट बैंकमा तीन लाख रुपैयाँ नगद मौज्दात, छोरा र बुहारीका नाममा दुई मोटरसाइकल र एउटा स्कुटर खरिद गरेको उनले बुझाएको विवरणमा उल्लेख छ।
श्रीमती बुद्धिमायाको नाममा कास्कीको दुई ठाउँमा जग्गा रहेको तथा ६० हजार रुपैयाँ मूल्य बराबरको गाई र नेपाल पूर्वाधार बैंक लिमिटेड ९निफ्रा० को शेयर ६० कित्ता रहेको विवरण बरालले बुझाएका छन्।
हरिशरण आचार्य, मन्त्री: ऊर्जा, जलस्रोत
जनता समाजवादी पार्टीका सांसद तथा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले आफूसँग आठ तोला सुन र पाँच तोला चाँदी रहेको विवरण बुझाएका छन्। उनका बुबा र श्रीमतीको नाममा गृह जिल्ला गोरखामा घरजग्गा छ।
मन्त्री आचार्यले बैंकबाट ५० लाख रुपैयाँ ऋण लिएर २० लाखको लगानीमा फर्निचर उद्योग चलाएको र त्यो ऋण मध्येको १० लाख रुपैयाँ तिरिसकेको सम्पत्ति विवरण फाराममा उल्लेख गरेका छन्।
मणिभद्र शर्मा, मन्त्री: पर्यटन, उद्योग, वाणिज्य
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले आफू दुई करोड ६७ लाख रुपैयाँ ऋणमा रहेको देखाएका छन्। उनले श्रीमती इन्द्रकली कँडेलको नाममा बागलुङमा ४८ लाख ५० हजारमा खरिद घर रहेको, श्रीमती र आफ्नो नाममा लेखानी, चितवन र रुपन्देहीमा जग्गा रहेको विवरण बुझाएका छन्।
आफूले ऋणबाट जग्गा किनेको र केही सम्पत्ति बिक्रीबाट आर्जेको उनको सम्पत्ति विवरणमा देखाइएको छ। उनले बागलुङको नरेठाँटीमा आठ लाख ४० हजार, चितवनको कुमरोजमा ३६ लाख, रुपन्देहीको पडसरीमा ५७ लाख ३५ हजार र चितवनको कुमरोजमै २७ लाख ३५ हजार रुपैयाँ ऋण लिएर जग्गा खरिद गरेको विवरण पेश गरेका छन्।
मन्त्री कँडेलसँग २५ तोला सुन र एक किलो चाँदी छ। उनले आफूसँग ८७ हजार कित्ता शेयर देखाएका छन्।
मेखलाल श्रेष्ठ, मन्त्री: शिक्षा, संस्कृति, विज्ञान
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री शिक्षा तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले आफूसँग नगद १५ लाख रुपैयाँ रहेको सम्पत्ति विवरण पेस गरेका छन्।
काठमाडौँ र स्याङ्जाको विभिन्न ६ ठाउँमा जग्गा जोडेका उनको विभिन्न आठ वटा कम्पनीमा शेयर लगानी रहेको छ। मन्त्री श्रेष्ठको नाममा स्याङ्जाको भीरकोट र काठमाडौँ नागार्जुनमा पक्की घर छ।
उनीसँग १९ तोला सुन, दुई तोला चाँदी र एक थान हीराको औँठी छ। आफूले सिटिजन्स बैंकबाट सात करोड ९० लाख रुपैयाँ ऋण लिएको, ४५ लाख रुपैयाँमा किनेको एउटा कार र श्रीमतीको नाममा किनेको दुई वटा स्कुटर पनि रहेको उनले विवरणमा उल्लेख गरेका छन्।
मधुमाया अधिकारी, मन्त्री: स्वास्थ्य तथा जनसङ्ख्या
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीले बुझाएको विवरणमा आफ्नो नाममा लमजुङको दूधपोखरीमा घर सहितको जग्गा रहेको उल्लेख छ। चितवनको कविलास र मकवानपुरमा समेत आफ्नो जग्गा रहेको उनले उल्लेख गरेकी छिन्। विवरण अनुसार अधिकारीसँग तीन तोला सुन र तीन वटा बैंकमा आठ लाख ६० हजार रुपैयाँ नगद छ।
विन्दुकुमार थापा, मन्त्री: कानून, सञ्चार
कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले आफ्नो नाममा पोखराका ६ ठाउँमा घर र आठ ठाउँमा जग्गा देखाएका छन्। होटेल, ट्रेड हाउस, मल र रिसोर्टमा लगानी गरेका उनले आफूसँग १० करोड रुपैयाँ नगद मौज्दात, ५५ हजार रुपैयाँ नगद घरमा, ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा रहेको विवरण पेस गरेका छन्।
परिवारका सबै सदस्यसँग गरेर कुल सात लाख ५० हजार कित्ता सेयर लगानी रहेको पनि मन्त्री थापाको विवरणमा उल्लेख छ। उनीसँग दुईवडा गाडी पनि रहेका छन्।
दीपक थापा मगर, मन्त्री: वन, वातावरण
वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापा मगरको नाममा स्याङ्जाको बिरुवा गाउँपालिका–२ मा ५० हजार रुपैयाँमा किनेको घर रहेको छ। पोखरा महानगरपालिका–१४ मा ४० लाखको जग्गा किनेको र त्यसको स्रोत तलब भत्ता, छोराको व्यवसाय र रेमिटेन्स भएको उनले बुझाएको विवरणमा उल्लेख छ।
मन्त्री थापाको सम्पत्ति विवरणअनुसार उनीसँग ३० तोला सुन र २० तोला चाँदी छ। उनले आफू ६१ लाख ५० हजार रुपैयाँ ऋणमा रहेको पनि देखाएका छन्।११ सदस्यीय मन्त्रीमण्डल रहेको प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाको सम्पत्ति सार्वजनिक भएको छैन।