काठमाडौँ । शक्तिसाली ‘मोन्था चक्रवात नेपाल आइपुगेको छ । बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात बुधबार राति नेपाल आइपुगेको हो ।
मोन्था भारतको आन्ध्र प्रदेश हुँदै नेपालको तराई नजिकै आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यससँगै कोसी, मधेस, बागमती, लुम्बिनी र गणडकी प्रदेशमा मोन्थाको प्रभाव सुरु भएको छ ।
वरिष्ठ मौसमविद् बरुण पौडेलका उनका अनुसार मोन्था आँधीको कारण आगामी केही दिन नेपालभर भारि वर्षाको सम्भावना छ ।
मोन्था आँधीको प्रभावले विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद् पौडेलले बताए ।
मोन्थाको प्रभावले बिहीबार दिनभर केही प्रदेशमा मौसम धुम्म भएको थियो भने, केही प्रदेशमा हल्का वर्षा भएको थियो । आज राति कोसी ,मधेस र बागमती प्रदेशका अधिकांश स्थान, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाड तथा हिमाल भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक दुई स्थानमा भारी हिमपातका साथै कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
मोन्था शुक्रबार झनै शक्तिसाली भएर भारि वर्षा हुने मौसमविद् पौडेलले जानकारी दिएका छन् । बाढी र पहिरोको जोखिम पनि उच्च रहेको उनको भनाइ छ । मौसमविद् पौडेलका अनुसार विशेषगरी मधेस प्रदेशमा भारी वर्षा हुन सक्ने र कोशी प्रदेशको पहाडी भूभागमा पनि भारी वर्षा र धेरै ठाउँमा मध्यम वर्षा पनि हुन सक्नेछ ।
त्यस्तै कोशी, मधेस र बागमती प्रदेशमा सावधानी अपनाउन उनले आग्रह गरेका छन्। उनले समग्रमा शनिबार बिहान वा दिउँसोबाट मौसममा सुधार हुने देखिए पनि शनिबारसम्म मौसम प्रभावित हुने देखिएको बताए ।
सरकारले शनिबारसम्म अत्यावश्यक काम बाहेक यात्रामा गर्न र यात्रामा गएका यात्रुहरुलाई सुरक्षित भएर बस्नको लागि आग्रह गरेको छ । चक्रवात भनेको सामृद्रिक आँधी भएकाले यसले २०० देखी ३०० सय किलोमिटर सम्मको रेडीयस बनाएर घुम्छ । त्यसैले शनिबारसम्म सबैले सतर्कता अपनाउनु होला ।