काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको राम मन्दिर परिसरमा बनेका अवैध भौतिक संरचना हटाएको छ ।
त्रिपुरेश्वरबाट थापाथली लाग्दा चोकको दायाँतर्फ रहेको मन्दिर छेउछाउमा जस्ताका टहरा बनाइएका थिए । महानगरपालिकाले शुक्रबार त्यसलाई हटाएको हो । यो मन्दिर तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि. सं. १९३०÷०३१ सालमा निर्माण गराएको बताइन्छ ।
वि. सं. १९९० सालको भुइँचालोमा क्षति पुगेको मन्दिर तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले जीर्णोद्धार गरेका थिए । मन्दिरमा मुख्य देवता भूदेवी र श्रीदेवीसहित चतुर्भुज नारायण रहेका छन् ।
यस मन्दिर क्षेत्रमा चार प्रकारका लक्ष्मणसहित सीता र रामका मूर्तिहरू छन् भने शिवलिंग, पादुका, हनुमानको मन्दिर लगायत पनि छन् ।