काठमाडौँ । अन्तरिम सरकार गठन भएको डेढ महिना बित्दा राजनीतिमा नयाँ ट्वीस्ट आएको छ । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोह पछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।
सरकार गठन भएको डेढ महिना बितिसक्दा समेत मुलुकले निकास भने पाएको छैन । नत तोकिएको समयमा चुनाव हुने टुंगो छ । नत सरकार र राजनीतिक दलबीच नै समन्व्य हुन सकेको छ । यस्तो अवस्थामा जेनजीसहतिको सर्वपक्षीय सरकार बनाउनु पर्ने एकथरिको बुझाइ छ ।
यो सरकारले चुनाव गराउन नसक्ने भएकाले जेनजीसहितको सर्वपक्षीय सरकार गठन गर्नुपर्ने पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको मार्गचीत्र हो । सर्वपक्षीय सरकार गठन भए आफू प्रधानमन्त्री नहुने ओलीले स्पष्ट पारिसकेका छन् । तर, यहाँ रोचक विषय के छ भने ओलीले आफ्नो मार्गचित्र सार्वजनिक गर्नुभन्दा अगाडि कांग्रेस, एमाले र जेनजी अभियान्ताबीच छलफल गरेको खुलेको छ । जेनजी पुस्ताको मागका विषयमा कांग्रेस, एमालेले संयुक्त रूपमा छलफल गरेका हुन् । ओलीको निवास गुण्डुमा गत मंगलबार
जेनजी पुस्ताका प्रतिनिधि, कांग्रेसका प्रतिनिधि र एमालेका प्रतिनिधिबिच छलफल भएको खुलेको छ । छलफलमा कांग्रेसबाट डा. प्रकाशशरण महत र रामहरि खतिवडा, एमालेबाट महेश बस्नेत र जयराम थापा तथा जेनजीका तर्फबाट १० भन्दा बढी युवा सहभागी थिए। पहिलो चरणमा भएको उक्त छलफलमा जेनजी पुस्ताका प्रतिनिधिले पुराना राजनीतिक दलहरूलाई बाहिर राखेर अघि बढ्न नसकिने धारणा राखेका थिए।
कांग्रेस र एमालेका प्रतिनिधिले पनि जेनजीका माग सम्बोधन गर्नुपर्ने र त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना गरी अघि बढ्नुपर्ने बताएका थिए।
मंगलबार दिनभर जेनजी अगुवासँग भएको छलफलपछि साँझ ओलीले समस्या समाधानका लागि ६ बुँदे मार्गचित्र प्रस्तुत गरेका हुन् । ओलीले प्रतिनिधिसभा पुनः स्थापानपछि जेनजीसहितको सहभागितामा सर्वदलीय सरकार गठन गरी फागुन २१ मै निर्वाचन गर्न सकिने भन्दै ६ बुँदे मार्गचित्र सार्वजनिक गरेका थिए।
जेनजीसहितको सर्वपक्षीय सरकार गठन गरि तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई निकास दिनुपर्नेमा जेनजी र दलहरु सहमत भएका छन् । यस्तो अवस्थामा कार्की नेतृत्वको अन्तरिम सरकार भने संकटमा परेको छ ।