आइतवार, श्रावण २४ गते २०८३

भड्काउ अभिव्यक्ति दिएको आरोपमा गोरखाबाट पक्राउ परे निकोलस भुसाल

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । डा. निकोलस भुसाललाई प्रहरीले गोरखाबाट नियन्त्रणमा लिएको छ ।

सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिँदै आएका डा. भुसाललाई प्रहरीले गोरखा नगरपालिका–८, सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरेको हो । उनले सामाजिक सञ्जालमार्फत समाजलाई भड्काउने प्रकृतिका अभिव्यक्ति दिँदै आएका थिए । तीन दिनदेखि फरार रहेका डा. निकोलस भुसालले मंगलबार एकाएक लाइभ गरेका थिए ।

गोकर्णनाथ मृगस्थलीबाट भन्दै ४४ मिनेट लाइभ गरेका उनले ध्यान गरेको देखिन्थ्यो । लाइभमा देखिएको दृश्य मृगस्थलीमा भए/नभएको यकिन गर्न सुरु भयो । तर भुसालले मृगस्थी भने झुक्याएको खुल्यो । प्राविधिक अनुसन्धानबाट उनी काठमाडौं नभएर गोरखा पुगेको देखियो । भिडियोमा देखिएको दृश्य गोरखाको कुनै आश्रम वा ठाउँमा हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढायो । अनुसन्धानको क्रममा खुल्यो उक्त ठाउँ गोरखा नगरपालिका–८ सरस्वती आश्रममा छ ।

हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिंदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका थिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध पनि अराजक अभिव्यक्ति दिएका थिए ।

भुसालले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेका थिए । त्यहाँ उनले गत २३ भदौको  जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकलाई हत्याराको संज्ञा दिएका थिए ।

जेनजी आन्दोलनका क्रममा २३ भदौमा एकैदिन सुरक्षाकर्मीको गोली लागेर २२ जनाको मृत्यु भएको थियो । यसमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको भूमिका रहेको उनको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार