काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका १० वटा पार्टीहरूबिच एकता घोषणा भएको छ । विभिन्न दलबीच भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्डको नाम अनुमोदन भएको छ। सहसंयोजकमा माधवकुमार नेपालको नाम अनुमोदन गरिएको छ।
एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रहेकोमा पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ। नेकपामा सामेल भएका दलहरुमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।
त्यस्तै सुमन राज काफ्ले नेतृत्वको जनसमाजवादी पार्र्टी, राजु कार्की अध्यक्ष रहेको नेकपा समाजवादी, विप्लव समूह (नेकपा)का महासचिव चिरन पुन, एमालेबाट अलग भएका प्रेमबहादुर सिंह, र नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी लगायतहरु सोमल भएका छन् ।
नेकपामा सामेल भएका दल र ती दलका नेताहरुले अब कहिल्यै नफुट्ने संकल्पका साथ अगाडि बढ्ने बताएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पुराना दलका बुढा नेताहरुले राजनीतिबाट विश्राम लिनुपर्ने आवाज उठिरहेको छ । यस्तो अबस्थामा १० दलहरुले एक जुट भएर देश र जनताका लागि काम गर्ने संकल्प राखेका छन् ।
प्रचण्डले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भएको दाबी गरेका छन् । प्रचण्डले सम्भवत १० वटा कम्युनिस्ट घटकहरू एकैपटक मिलेको यो पहिलो तथ्य हुनसक्ने पनि बताए । ‘आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनले इतिहासमा कहिल्यै नबिर्सने दिन हुनेछ । सम्भवतस् १० वटा घटकहरू एकैदिन मिलेको दिन सबै आ–आफ्नो ठाउँमा वैचारिक संघर्षबाट गुज्रेका नेताहरूबाट भएको यो एकता साँच्चै अभूतपूर्व छ।’ प्रचण्डले भनेका छन् ।
तर, माओवादी र एकीकृत समाजवादीका कतिपय नेताहरुले विद्रोह नै गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री लगायतका नेताहरु १० दलबीच भएको पार्टी एकतामा सामेल भएनन् ।
माओवादीबाट जनार्दन शर्माले पनि विमति जनाएका छन् । पार्टी भित्रकै नेताहरुले असहमति जनाउदा नेकपाको भविश्यमाथि समेत प्रश्न उठेको छ । कतै बुढा नेताहरुले केही वर्ष नेतृत्वमै रहन एकताको प्रयास गरेका हुन् की ? भन्ने आशंका पनि छ । यद्यपी एकथरिले भने सबै मिलेर अगाडि बढ्नु राम्रो भएको औँल्याएका छन् । अर्को थरिले भने १० दलबीच भएको एकताको विरोध समेत गरेका छन् ।